s

कुवेत पुर्‍याएर मानव बेचबिखन गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ

भिजिट भिसामा कुवेत लगेर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ का ३२ वर्षीय ङेमा लामालाई काठमाडौंको गोकर्णेश्‍वर नगरपालिकाबाट पक्राउ गरेको हो।

लामाले पीडितबाट ९५ हजार रुपैयाँ लिएर २०८० सालको कात्तिक ५ गते भिजिट भिसामा कुवेत पुर्‍याएका थिए। कुवेतमा रहेकी लामाकी श्रीमतीले पीडितलाई रिसिभ गरेर कुवेती नागरिकको घरमा १ हजार १५० कुवेती दिनारमा बेचबिखन गरेको दाबी प्रहरीको छ।

लामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एयरपोर्टमा देखाउने कागजातसमेत झुट्टा र फरक फरक रहेको प्रहरीको भनाइ छ।

प्रारम्भिक अनुसन्धानमा कुवेती नागरिकले पीडितलाई बन्धक बनाएको, पारिश्रमिक नदिई घरेलु कामदार राखेको र यौन तथा चरम श्रम शोषण गरेको पाइएको प्रहरीले बताएको छ।

पक्राउ परेका लामाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।

Published on: 16 July 2024 | Nagarik

Link

Back to list

;